अर्थ

मेचीनगरको आर्थिक वर्ष २०७९/०८० को बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

मेचीनगर । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आज आयोजित कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

२०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचन पछि गठन भएको पहिलो नगरसभाले नगरको कुल बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैया निर्धारण गरेको हो । जसमा चालु खर्च ६२ करोड २३ लाख रहेको छ भने पुँजीगत खर्च ७० करोड ४ लाख ४ हजार १६ रुपैया रहेको छ र वित्तिय व्यवस्था खर्च ६ लाख रुपैयाँ रहेको नगरउपप्रमुख मिना पोखरेल उप्रेतीले सार्वजनिक गरेको मेचीनगर विनियोजन विद्येयक २०७९ मा उल्लेख गरिएको छ ।

निति तथा कार्यक्रम सार्वजनिक समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री तथा संघीय सांसद राम कार्की (पार्थ), संविद्यान सभा सदस्य रविन कोईराला, पूर्व बागमती प्रदेश प्रमुख बिष्णु प्रसाई, प्रदेश सांसद श्रीप्रसाद मैनाली, राधा थापा, निवर्तमान नगरप्रमुख विमल आचार्य, एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, काँग्रेस मेचीनगर सभापती सुदय पनेरु, एकिकृत समाजवादीका मेचीनगर अध्यक्ष अर्जुन पौडेल, राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाई, जनता समाजवादी मेचीनगरका अध्यक्ष ओमप्रसाद खापुङ्गलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि मणिकुमार उप्रेती, मेचीनगर प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहाल, मेचीनगरका पन्द्रबटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपप्रमुख मिना उप्रेतीले गरेकी थिईन् ।