संघ \संस्था

होलिबेल स्कुलका विद्यार्थी पढाइसँगै रोपाईमा

मेचीनगर । श्रेया शाह धुलावारीस्थित होलीबेल अंग्रेजी बोडिङ स्कुल कक्षा ८ मा पढ्छिन् । बजारमा जन्मिएकी उनले न त धान रोपाई देखेकी थिइन् न त कहिलै हिलोमा पसरे धान नै रोपेकी थिइन् । बिहान उठेर विद्यालय जानु, आउनु र पढ्नु नै उनको दिनचार्य जस्तो थियो । असार १५ गते राष्ट्रिय धान दिवस भन्ने किताबमा मात्र पढेकी उनलका लागि बुधवार फरक अनुभूति भयो । विद्यार्थीलाई पढाइसँगै व्यवहारिक शिक्षा दिने उदेश्यले विद्यालयले असार १५ का दिन रोपाईमा सहभागि गराउँदा शाहले पनि सहभागि हुने अवसर मात्र पाइनन् हिलाम्मे भएर धान समेत रोपिन ।


यसो त सोही विद्यालयकी सारिका भुजेलका लागि पनि धान रोप्नु नौलो विषय थियो । उनी पनि सोही रोपाईमा सहभागि भएर पहिलो पटक धान रोप्ने अवसर पाइन् ।
रोपाईको पहिलो अनुभव गर्ने शाह र भुजेल मात्र होइन उनीहरु जस्ता १२५ जना विद्यार्थीले पहिलो पटक रोपाइलाई नजिकबाट नियाले । धुलावारी निन्दा पुल किनारमा रहेको मानव धर्म सेवा समितिको जग्गामा भएको रोपाई कार्यक्रममा होलिबेलले कक्षा ७ र ८ का विद्यार्थीलाई सहभागि गराएको थियो ।

धान हिलोमा रोपाइ हुन्छ भनेर किताबमा पढेको थिए, कक्षा ७ की विद्यार्थी श्रेया बेगाले भनिन् आज स्कुलले हामीलाई प्रत्यक्ष सहभागि गराएर व्यवहारिक विषय सिक्ने अवसर दिलाइदिनु भयो । उनले धान रोप्न पाउँदा खुसीको अनुभूति भएको बताइन् ।


पढाइसँगै अतिरिक्त क्रियाकलापमा सहभागि गराउँदै आएको विद्यालयले नानीहरुका लागि राष्ट्रिय पर्वका रुपमा रहेको धान दिवसलाई बुझाउन सहभागि गराएको विद्यालयका सहायक सञ्चालक सुरज कार्कीले बताउनु भयो ।


नानीहरुले हिलोमा खेल्दै, रमाउँदै, हिलाम्मे भएर धान रोपेका थिए भने एक अर्कामा हिलो छयापेर रमाइलो समेत गरेका थिए ।
विद्यालयका संस्थापक सञ्चालिका अमृता प्रधानको नेतृत्वमा गएको टोलीमा विद्यालयका प्रधानाध्यापक अरिस्ता प्रधान, सहायक सञ्चालक सुरज कार्की, शिक्षकहरु इन्दिरा भुजेल, शुष्मा नेपाल र शर्मिला घिमिरे सहभागि हुनु भएको थियो । साथै नानीहरुलाई असार १५ मा खाने दहि चिउरा समेत ग्रहण गरायएको थियो ।