झापा । साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ।

झापाका मुख्य गरेर अर्जुनधारा जलेश्वरधामसहित, साताक्षीधाम, कनकाई माई, धनुश्कोटी, मेचीनगरको पातालगंगा शिवालय मन्दिर, दमकको पशुपति मन्दिर, शनिश्चरेको डाङग्रे बाबा धाम, बाह्रदशीको साधुकुटी, लगायतका शिवालयहरुमा भक्तजनको भिड लागेकोे छ ।
ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ।
पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

