राजनीति

गठबन्धनको सरकारले देश र जनतालाई बर्बाद पारिरहेको छः अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार राष्ट्रघाती देशद्रोही भएको आरोप लगाएका छन् ।

शुक्रबार झापाको विर्तामोडमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकारले देश र जनतालाई भ्रममा पारेर बर्बाद पारिरहेको आरोप लगाए ।

देश र जनताको पक्षमा सधै स्पष्ट बोल्ने पार्टी एमाले मात्रै भएको बताउँदै अध्यक्ष ओलीले एमालेलाई हराउन कै लागि मन नमिल्ने पार्टीहरु पनि स्वार्थका लागि गठबन्धन गरेर अहिले देश र जनतालाई अप्ठयारोमा पारिरहेको बताए ।

जनता अब सचेत भइसकेको बताउँदै गठबन्धनका नाममा देश र जनतालाई झुक्याउने दाउ कुनै पार्टीको पनि नचल्ने बताए ।

दुई दिनदेखि गृह जिल्ला झापाको विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त रहेका ओलीले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ती बनाउन सबै आ–आफ्नो क्षेत्रबाट लाग्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।