संघ \संस्था

बुटवल लेडी जेसीजको तीजमिलन तथा सहयोग रकम हस्तान्तरण

बाहुण्डाँगी । बुटवल लेडि जेसीज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ । मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोगवापतको रकम हस्तान्तरण गरेको हो । बुटवल लेडि जेसिजले हरितालिका तिजलाई लक्षित गरेर तिज मिलन कार्यक्रम समेत सन्चालन गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् । उनले तीजमा हुने रमझम र भेटघाटले दिदीबहिनीमा बढाउने भातृत्वले पनि ठूलो भुमिका खेल्ने भएकाले महिलाहरु संगठित र एक भए समाजमा परिवर्तन ल्याउन सकिने बताइन् ।

अधिकारकर्मी आनिक रानाले जिल्लाभरी मात्र नभइ देशैभरी रहेका लैंगिक तथा यौनिक अलपसंख्यक समुदायका लागि गरेको कामको प्रशंसा गर्दै उनले हिम्मत र सबैको प्रार्थनाले रानाले क्यान्सर रोगलाई जित्न सक्ने शुभेच्छा प्रकट गरिन् । उनले रानाको उपचार सहयोगार्थ जेसीज लगायत अन्य संस्थाले गरेको रकम संकलनको कार्यलाई समेत रानाले समाजमा पारेको सकारात्मक कामको प्रतिफल भएको बताइन् । उनले रानालाई हिम्मत र साहसले नै रोग जित्न सकिने भन्दै हौसला प्रदान गरिन् । त्यस्तै कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का बोर्ड सल्लाहकार एवं बुटवल लेडी जेसीजका सल्लाहकार तथा पूर्व अध्यक्ष राधिका पोख्रेलले जेसीज विधिको शासन मानेर चल्ने संस्था भएकाले सामाजिक सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने गरेको बताइन् । उनले लैंगिक तथा यौनिक अल्पसंख्यक पनि समुदायकै व्यक्ति भएकाले उहाँहरुप्रति राखिने दृष्टिकोण परिवर्तन गरी साथ र सहयोग गर्न आवश्यक रहेको औंल्याइन् ।


संसारमा क्यान्सर जस्ता रोग जितेर दुनियालाई उत्प्रेणा दिने मान्छेहरु पनि भएको र त्यसको ज्वलन्त उदाहरण बन्नका लागी आनिकलाई हौसला र शुभकामना दिइन् । कार्यक्रममा बुटवल लेडी जेसिजकी अध्यक्ष अनुपमा श्रेष्ठले पौराणिक महत्व बोकेको तीज नेपालीको ठूलो चाडमध्येको एक भएको बताइन् ।उनले यो चाड पिडितहरुको आवाज उठाउने माध्यम भएको पनि बताइन्।हिजोका दिनमा महिला दलित र पिडितका आवाज बनेको तीजले उनीहरुको जीवन परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्यो भने आज यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको आवाजका लागी साथ र हौसला दिन तीजमिलन कार्यक्रम गरेको बताइन्। तीजले सबै महिला तथा लैंगीक अल्पसंख्यक समुदायलाई डटेर अघि बढ्ने साहस दिने विश्वास व्यक्त गरिन् । साथै क्यान्सर रोगबाट ग्रसित आनिक रानाको उपचारार्थ आफुहरुले गर्न सक्ने सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता व्यक्त गरिन् । श्रेष्ठले समाजले उपेक्षा गरेको लैंगिक तथा यौनिक अल्पसंख्यकका व्यक्तिलाई संगठित गरेर अघि बढेकी रानालाई सबैको साथ र हौसलाको आवश्यकता रहेको जानकारी दिइन् । उनले आफ्नो कार्यकालमा सो समुदायसंग अझ थप कार्यक्रम गरी उनीहरुप्रतिको सम्मान झल्काउने प्रयास जारी राख्ने बताइन् । कार्यक्रममा आनिकले आफू बोल्न नसके पनि पत्रको माध्यमबाट बुटवल लेडी जेसीजले दिएको साथ,सम्मान र सहयोगले बाच्ने आधार बलियो बनाएको भावना सहित कार्यक्रमको प्रसंसा एवं धन्यवाद व्यक्त गरेकी थिइन्। बुटवल लेडि जेसिजले ४२ हजार ४ सय ४५ र सहयोगी सँस्था सपोर्ट लव नेपालले २१ हजार गरि जम्मा ६३ हजार ४ सय ४५ रुपैया क्यान्सर पिडित सन्चारकर्मि राना लाई हस्तान्तरण गरिएको थियो। बुटवल लेडी जेसीजका कानूनी सल्लाहकार कमला लम्सालको सञ्चालनमा भएको कार्यक्रम बुटवल लेडी जेसीजका उपाध्यक्ष पुनम पन्थको स्वागत तथा संयोजनमा सम्पन्न भएको थियो ।