राजनीति

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्गदेन सर्वसम्मत सिफारिस

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन झापाको क्षेत्र न ३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । आज बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।

अध्यक्ष लिङ्गदेनको उम्मेदवारी सिफारिस भए सँगै झापा राप्रपा उत्साहित देखिएको छ । ‘यो अत्यन्तै खुशीको क्षण हो, श्रद्देय अध्यक्ष ज्यूलाई पुन: भोट हाल्ने मौका जुरेको छ।’, राप्रपाका युवा नेता राजकुमार चाम्लिङ्गले भने।

उम्मेद्वारी घोषणा गरिएसंगै चुनावी प्रचार प्रसार अभियानलाई उत्साहित रुपमा अगाडी बढाउने चाम्लिङ्गले बताए।

‘अध्यक्ष ज्यूलाई पुन: एक पटक झापाली जनताले उम्मेदवारको रुपमा पाउनु भएको छ। यो अत्यन्तै गौरवको कुरा हो। हामी यो पटक झापाबाट देशव्यापी रुपमा नयाँ सन्देश दिंदै छौं, तत्काल चुनावी कार्यक्रम सार्वजनिक गरिने छ।’, राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले भने।

अध्यक्ष लिङ्गदेनले अघिल्लो निर्वाचनमा भारी मतान्तर सहित विजय हासिल गरेको क्षेत्र हो झापाको क्षेत्र नम्बर ३ यो पटक लिङ्गदेनले पहिलेको भन्दा बढी मतान्तरले विजयी हुने आकलन रहेको राप्रपा नेत्री रन्जु प्याकुरेल बताउछिन्।

‘यो पटक अध्यक्ष ज्यूको क्रेज छुट्टै छ, वहाँले पहिलेको भन्दा बढी मतान्तरले जित्ने हाम्रो प्रेडिक्शन छ।’, प्याकुरेलले भनिन्।

झापा ४ बाट खुस्बु ओली उठ्ने निश्चित

झापा, क्षेत्र-४ मा रा.प्रा.पा. बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस गरिएको छ।
वेलायतको अक्स्फर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री खुस्वु ओली झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि सर्वसम्मत रुपमा सिफारिस भएकि हुन्।

युवा उद्द्यमी तथा अन्तराष्ट्रिय रणनीतिकार खुस्वु ओली हाल राप्रपामा केन्द्रीय प्रशिक्षक समेतको जिम्मेवारी सम्हालेकी छिन्। एक दशक देखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एन.जि.ओ. ले हाल नेपालका कारागारहरुमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।

महिला र किसान शसक्तिकरण अभियान र सडक बालबालिकाको पुनर्स्थापनाको क्षेत्रमा ओलीको उल्लेखनीय योगदान रहेको बताइन्छ। झापामा रहेर लामो समय देखि कृषि क्षेत्रमा सेवारत रहेकी ओलीको झापा ४ को उपस्थितिले महिला र युवा वर्गमा प्रेरणा मात्र नभई नयाँ जोश र आशा समेत दिलाएको बताइन्छ।