बाहुण्डाँगी । बसामाडी जेसीजको आयोजनामा हेटौंडामा सञ्चालन भएको २० औँ संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् क्लबले जितेको छ।
शनिबार भएको फाइनल खेलमा विनयबाबु स्मृति प्रतिष्ठानलाई सोझो सेटमा हराउँदै आग्राले उपाधि जितेको हो। आग्राले विनयबाबु प्रतिष्ठानलाई २५–२०, २६–२४, २६–२४ को सेटमा हराएको हो।
सेमिफाइनलमा आग्राले आमभञ्ज्याङ युवा क्लबलाई र विनयबाबु प्रतिष्ठानले बज्रबाराहीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। उपाधि विजेता आग्राले ६५ हजार प्राप्त गर्दा उपविजेता विनयबाबु प्रतिष्ठानले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीको पुरस्कार आग्राले नै पायो। उत्कृष्ट खेलाडी पुजन गुरुङ, उत्कृष्ट स्पाईकर रमेश थिङ र उत्कृष्ट सेटर सञ्जय थिङ भए। यस्तै अनुशासित टिमको पुरस्कार बज्रबाराही युवा क्लबले पायो।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी चुडाकुमारी खड्का, आयोजक बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवाल लगायतले पुरस्कार वितरण गरेका हुन्। प्रतियोगितामा जिल्लाका ७ वटा टिमको सहभागिता रहेको थियो।

