झापा । छिमेकी राष्ट्र चीन र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। खुला सीमा नाकासँग जोडिएको भारत र छिमेकी चीनमा कोरोना देखा परेसँगै सो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले देशभरका निकायहरूलाई निर्देशन दिइसकेको छ। कोरोना संक्रमणको त्रास बढे पनि निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा समेत झापामा निर्माण गरिएको होल्डिङ सेन्टर सञ्चालनमा आउन सकिरहेका छैनन्।
सरकारले करोडौं लगानी गरेर निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगविहीन अवस्थामा छन्। सेन्टरको रेखदेखका लागि नेपाली सेना खटाइएको छ। देशभर कोरोना कहर देखिएका बेला पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी सरकारले झापाको मेचीनगर नगरपालिका –१४ दुवागढीस्थित हडिया खोला किनारमा २८ करोडको लागतमा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अगाडि बढाएको थियो। तर, उक्त होल्डिङ सेन्टर निर्माण सम्पन्न भएको करिब ८ महिना बितिसक्दा समेत अझै सञ्चालनमा आउन सकेको छैन। नेपाली सेनाको संरक्षणमा चार विगाहा क्षेत्रफलमा एक हजारजना अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की भवन बनाइएको छ।
१४ वटा क्वारेन्टीन, दुई वटा डाक्टर र स्वस्थ्यकर्मी बस्ने भवन, १२ वटा डाइनिङ हल, दुई वटा एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ वटा शौचालयलगायतका संरचनाहरू निर्माण भइसकेको छ। कोरोना त्रास फेरि बढेको छ। तत्काल होल्डिङ सेन्टर प्रयोगमा ल्याउनु पर्यो । वा सो सेन्टरलाई अन्य प्रयोजनमा लगाउनु पर्ने स्थानीयको भनाइ छ। निर्माण गरेर छाडेको भवन प्रयोगमा ल्याइएन भने त्यो झन् जीर्ण बन्दै जाने उनीहरूको तर्क छ।
कोरोनाको दोस्रो लहरको समयमा भारतबाट आउने नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्या भएको थियो। त्यसलाई मध्यनजर गर्दै सरकारले गत पुस मसान्तभित्रमा निर्माण कार्य सक्ने गरी होल्डिङ सेन्टरको निर्माण सम्पन्न गर्न नेपाली सेनालाई जिम्मा लगाएको थियो। राज्यको करोडौं रकम खर्चेर बनाइएको होल्डिङ सेन्टर मेचीनगरको सम्पत्ति भएको मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले बताए। यसलाई सही तरिकाले समयमा नै प्रयोगमा ल्याउनु राज्यको दायित्व भएको उनको भनाइ छ।
पहिलो लहरमा नेपाली सेनाले आफैं होल्डिङ सेन्टर निर्माण गरे पनि दोस्रो र तेस्रो लहरमा समस्या नहोस् भनेर सरकारले झापासहित तराइका आठ जिल्लामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण कार्य अगाडि बढाइएको थियो। कोरोनाको त्रास बढेकाले यस होल्डिङ सेन्टरलाई कसरी प्रयोग गर्ने विषयमा गृहकार्य भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।
कोरोना संक्रमण ह्वातै बढ्ने र फेरि घटेर जाने हुँदा यसलाई प्रयोगमा ल्याउन केही समस्या भएको हो। पूर्वाधारका सबै काम पूरा भइ हाल नेपाली सेनाले संरक्षण गरिरहेको बताउँदै न्यौपानेले भने, ‘होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउन आन्तरिक छलफलसँगै माथिल्लो निकायको परामर्शका लागि लिखित रुपमा पत्राचार गरिसकेको अवस्था छ।’ होल्डिङ सेन्टर प्रयोगमा ल्याउन चिकित्सकसहितको आवश्यक जनशक्ति नै ठूलो चुनौती रहेको उनको भनाइ छ।

