धर्म संस्कृती

झापाको कनकाई माई मेला भोलिदेखि लाग्दैं

झापा । कोरोना भाइरसका कारण बिगत दुई बर्ष अघि देखि लाग्न नसकेको झापाको कनकाई माई मेला यसपटक भोलिदेखि लाग्दै छ ।

प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको माई मेला यसपटक पनि भब्य रूपमा लाग्ने भएको हो ।

कोरोनाभन्दा अघि सहज अवस्थामा वर्षेनी माईमेलामा तीन लाखभन्दा बढी भक्तजन तथा दर्शकहरु आउने गरेका थिए । माई मेलामा आएर मकर नुहाई पूजा, आरधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । कनकाई नदीलाई भगवती माईदेवीका रुपमा मान्ने गरिएको छ । भगवती माईदेवीमा स्नान गरेपछि मनोकांक्षा पुरा हुने स्थानिय बताउँछन् ।

नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत मकर स्नानका लागि आउनेहरुको संख्या उल्लेख्य हुने गरेको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणिपुर लगायत भुटानबाट समेत मेलामा भक्तजन आउने गरेका छन् ।

कनकाई माई इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ । यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट बगेकोछ ।

पूर्वको पवित्र धार्मीक तथा पर्यटकिय क्षेत्रको रुपमा चर्चित कनकाई माईमा प्रत्येक बर्ष माघे सङ्क्रान्तिको अवसरमा लाखौं भक्तजनहरुले पुजा गर्न र मेला भर्न आउने गर्दछन् । त्यसलाई निरन्तरर्ता दिन आयोजकले यसपालि पुस २९ गते भोलिदेखि माघ २ गतेसम्म मेलाको आयोजना गरिएको जनाएको छ ।

माईमेलामा विविधजात—जातिका संकृति अनुसारका सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने गरेका छन् । यस अघिको माई मेला कोभिड–१९ को महामारीका कारण प्रभावित भएको थियो । कोरोना नियन्त्रण भएपछि भने यो वर्ष माईमेलामा तीर्थयात्रीको भिड उल्लेख्य लाग्ने अनुमान आयोजकले गरेको छ ।

यो वर्षपनि माई मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातीका झाँकी, कला साहित्यका विविधि कार्यक्रम आयोजना हुने कनकाई माई मेला मुल आयोजक समितिका अध्यक्ष श्याम कुमार राईले बताए । देखिदैन ।