खेलकुद

बुढासुब्बा गोल्डकप : युकेएफसी भारतलाई हराउँदै काँकडभिट्टा फाइनलमा

धरान । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो । धरान रङ्गशालामा आज भएको खेलमा काँकडभिट्टाको लागि सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक एक गोल गरे । युकेएफसीका हेमराज भुजेलले १ गोल गरे ।

खेलको २२ औ मिनेटमा यामीको गोलबाट अग्रता कायम गरेको काँकडभिट्टा विरुद्ध ४४ औ मिनेट युकेएफसीका हेमराज भुजेलले १ गोल गरेपछि मध्यान्तरसम्म दुवै टिमले १-१ को बराबरी खेलेका थिए ।

मध्यन्तरपछी आक्रामक खेल पस्किएको काँकडभिट्टाका लागि खेलको ५० औ मिनेटमा सुशील राई गोल गरेपछि आफ्नो अग्रता दोब्बर बनाएको अवस्थामा ८९ औ मिनेटमा अर्को गोल गरेपछि काकडभिटाले ३-१ को सहज जीत हात पारेको हो ।

युकेएफसीका खेलाडीले सुशील राईलाई डी एरियाभित्र फल गरेपछि पाएको पेनाल्टीलाई निशान लिम्बुले गोलमा परिणत गरे । खेलको म्यान अफ द म्याच यामी घोषित भए । उनले नगद १० हजार पाए ।

काँकडभिट्टाले अब उपाधिका लागि भोलि बिहीबार हुने एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङ बिचको दोस्रो सेमिफाइनल विजेता सँग खेल्नेछ । प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ ।