मेचीनगर । पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानले नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । सातौँ बार्षिक साधारण सभा मार्फत प्रतिष्ठानले नयाँ नेतृत्व पाउने भएको हो । नयाँ नेतृत्व छनोटका लागि संस्थाको आफ्नै सभाहल धुलाबारीमा निर्वाचन प्रक्रिया शुरु भइसकेको छ । आज विहान आयोजित साधारण सभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष मिलनराज प्रशाईले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन र केशव पौडेलले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन पास भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रशाईले प्रतिष्ठान धेरै संघर्ष पार गर्दै आजको समयसम्म आइपुगेको बताउनुभयो । ‘शुरुमा हामीले नेतृत्व गर्दै गर्दा प्रतिष्ठानको सभाहल अत्यन्तै जिर्ण थियो त्यसलाई अत्यन्तै धेरै मर्मत गर्नुपर्यो, यसका अलवा भुकम्पका कारण समग्र देशले नै भोग्नुपरेको भयावह अवस्था, कोभिड महामारी लगायत धेरै विपत्ती पार गर्दै हामी आएका छौँ ।’ प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले भन्नुभयो ‘अहिलेको अवस्थामा भने हाम्रो संरचना मजबुद बनेको छ, आर्थिक स्रोतलाई दर्बिलो बनाउन संस्था आफैले ड्रिम प्रोजेक्टका रुपमा स्वीमिङ पुल सञ्चालनको अन्तिम तयारी गर्दैछ ।’
उहाँका अनुसार एक करोड १९ लाख लगानीमा प्रतिष्ठानको सभाहल परिषरमै स्वीमिङ पुल सञ्चालनको तयारी भइरहेको छ । जसका लागि छुट्टै उपभोक्ता समिति निर्माण गरेर काम भइरहेको उहाँले बताउनुभयो । आज हुने नेतृत्व चयनमा मेचीनगरका १५ वटै वडाका वडाध्यक्षसहित एक सय ३३ जनाले मतदान गर्दैछन् । निर्वाचनले अध्यक्ष र उपाध्यक्ष सहित १० जना सदस्य निर्वाचित गर्नेछ भने धुलाबारी जेसीजका अध्यक्ष, संस्थाका निवर्तामान अध्यक्ष र नगरपालिकाका एक जना प्रतिनिधि स्वत सदस्य बन्नेछन् ।
प्रतिष्ठानको सातौँ बार्षिक साधारण सभाको उद्घाटन सत्रमा संस्थाका पदाधिकारीहरु सगैँ चन्दादाता, जेसीजका पदाधिकारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव दिपेन्द्र कार्कीले गर्नुभएको थियो ।