समाचार

कहिले पुग्ला ग्वालबस्तीको पीडा संसद भवनमा ?

मेचीनगर । छिमेकी मुलुक भारतसंग सिमाना जोडिएको झापाको मेचीनगर १५ मा पर्दछ ग्वालबस्ती । सुगम जिल्लाको दुर्गम गाँउमा पर्ने यो ग्वालबस्तीमा अहिलेसम्म पनि राज्य र राज्य संचालन गर्ने व्यक्तिहरुको नजर पर्न सकेको छैन ।

आर्थिक अवस्था कमजोर भएका आदिवासी समुदायको बाक्लो बसोबास रहेको मेचीपारीको ग्वालबस्तीमा चुनावको बेला नेताहरुको खुबै दौडधुप हुने गर्दछ । तर, चुनाव जितेर गएपछि अहिलेसम्म एक पटक पनि कुनै नेता फर्केर नआएको तितो यथार्थ यहाँका नेपाली ग्वालबासीमा छ ।

सच्चा देशभक्ति भएर देशको सिमाना रक्षामा सदैब अढिग रहदैं मेचीपारीको नेपाली भूमिमा पुस्तौदेखि बसोबास गर्दै आएका उनीहरुलाई नेताहरुले भने, चुनावको बेला मात्रै सम्झने गर्दछन् । चुनावको बेला नेताहरु देशमा समृद्धि, राष्ट्रियता र आदर्शको खोक्रो भासन गर्दै मत माग्न पुग्ने तर, चुनाव जितेर गएपछी अहिलेसम्म पनि उनीहरुलाई सम्बोधन गर्न सकिरहेका देखिदैन । खेती किसानी गर्ने ग्वालबासी बर्षैदेखि मेची नदीमा पुल नहुँदा समस्या भोगिरहेका छन् । उनीहरुले राज्यले आफुहरुलाई उपेक्षा गरेको आरोप लगाइरहेका छन् ।

आदिवासी समुदायको बाक्लो बसोबास रहेको ग्वालबस्तीका नागरिकले आफुहरुलाई राज्यले वेवस्था गरेको जनाएका छन् । राज्यबाट पाउनुपर्ने थुप्रै सुविधाबाट बन्चित रहेका उनीहरुले भर्खर भर्खरै बिजुली बत्ती बाल्न भने पाएका छन् । तर, ग्वालबस्ती र बिच्कामत जोड्ने मेची नदीमा पुल नबन्दा हिउँदमा जसोतसो आवतजावत गरेपनि बर्खामा भने नेपालसंग आवतजावत ठप्प हुने गरेको छ । आवतजावत ठप्प हुँदा आधा घण्टामा पुगिने वडा कार्यालय जान पनि करिब ३ किमी भारतको बाटो हुँदै दिनै माया मारेर जानुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।

वर्षौदेखि यो नियती भोगिरहेका उनीहरुले पुल बनाउँन खर्च बढी लाग्ने भए झोलुङ्गे पुल भएपनि बनाइदिन सरकारसंग माग गरिरहेका छन् । तर, अझै पनि आफुहरुकोे माग सुनुवाइ नभएको ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमल यादव बताउँछन् । झापाबाट निर्वाचित भएर सांसदहरु प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतको उच्च पदमा पुगिसकेका छन् । राजनीतिक पार्टीको शिर्ष नेतृत्वमा पनि थुप्रै झापाली छन् ।

यस क्षेत्रबाट पटिल्लो समय देशकै प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा संघिय सांसदमा निर्वाचित छन् । त्यस्तै यसअघि यस क्षेत्रबाट राम कार्की, रविन कोइराला, उषा गुरूङ, नरेन्द्रविक्रम नेम्वाङलगायत थुप्रै नेताहरूले संसदमा प्रतिनिधित्व गरिसकेका छन् । शर्मा निर्वाचीत भएको पनि करिब एक बर्ष पुग्न लाग्यो । तर, उनले पनि ग्वालबस्तीको बिषयमा प्राथमिकता दिएको देखिदैंन ।

अहिले बर्खाको समय छ मेची नदिमा दैनिक जसो बाढी आईरहेको छ । पुल नहुँदा जोखिम मोलेर खोला वारपार गर्न ग्वालबस्तीबसी बाध्य भइरहेको छन् ।