स्वास्थ्य

डेँगु रोग रोकथाम तथा नियन्त्रणमा मेचीनगरको पहल सुरू

के हो डेँगु ? डेँगु लागेको कसरी थाहा पाउने ?

मेचीनगर । पछिल्लो समय संक्रमणको रूपमा फैलिरहेको डेँगु रोग रोकथाम तथा नियन्त्रणको लागि झापाको मेचीनगर नगरपालिकाले पहल थालेको छ ।

डेँगु रोगले विकराल रूप नलियोस् भन्नका लागि नगरपालिका बेलैमा सचेत हुँदै त्यसको रोकथाम तथा नियन्त्रणमा जुट्न थालेको हो । नगरपालिकाले आज स्वास्थ्य विज्ञसहितको वहुनिकाय अन्तरक्रिया तथा योजना तर्जुमा कार्यक्रमको आयोजना गरि नगरपालिका डेँगु रोग नियन्त्रणमा योजनाबद्ध रूपमा लागि पर्ने भएको छ ।

नगरपालिकालाई डेंगुको भयावह अवस्थाबाट बचाउन नगरपालिकासंगै स्वास्थ्यसँग सम्बन्धित तथा अन्य सम्पूर्ण सरोकारवाला संस्थाहरु, प्रत्येक टोलविकास संस्थाहरु, नागरिक अगुवा लगायत सबैको दायित्व रहेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मानिसको स्वास्थ्यसँग जोडिएका बिषय भएकाले डेंगु नियन्त्रणमा सबैले सक्रिय भएर लाग्नुपर्ने बताए ।

अभियानको सुरूवात आफैबाट गर्नुपर्ने बताउँदै उनले आफ्नो घर वरपर आजैदेखि दिनको आधा घण्टा समय छुट्याएर सरसफाइमा लाग्ने बताउँदै यस कार्यमा सबैले आआफ्नो क्षेत्र सफा राख्न आग्रह गरे ।

अन्तरक्रियामा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकृत जिवन चौंलागाइ र जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्शन कुलबहादुर पौडेलले डेंगु रोगका सन्दर्भमा जानकारी गराएका थिए ।

मेचीनगरमा चालू आर्थिक बर्षमा १२ जनामा डेँगु संक्रमण पुष्टि भएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिइन् । उनले मेचीनगर संक्रमणको जोखिममा रहेको बताउँदै सबैले सतर्कता अपनाउनु पर्ने बताइन् ।

के हो डेँगु ?

डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्र्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

डेँगु लागेको कसरी थाहा पाउने ?

डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।

डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । साथै लाग्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।

कसरी बच्ने ?

डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ ।

उपचार के छ ?

अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो ।
डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुुपर्छ । साथै यस रोग लागेमा टाउको धेरै दुखेर सहनै नसक्ने अवस्था पनि हुन्छ । उक्त अवस्थामा सादा पारासिटामलबाहेक अन्य औषधी सेवन गर्नुहुँदैन । पारासिटामल मात्रै प्रयोग गर्नुपर्छ ।


औषधी छर्किने, धुँवा उडाउने लगायतका कार्य प्रभावकारी छैन

पछिल्लो समय डेंगु लागेमा औषधी छर्किने, धुँवा उडाउने लगायतका कार्य धेरै भएको पाइन्छ । तर स्वास्थ्य क्षेत्रका विज्ञहरु यस्तो कार्य यस रोगका लागि प्रभावकारी नभएका बताउँछन् । यसरी औषधी छर्किदाँ वातावरणसँगै सम्पूर्णमा असर पुग्ने भएकाले औषधी छर्किने धुवाँ उडाउने कार्य नगर्न स्वास्थ्य क्षेत्रका विज्ञहरुको सुझाव छ ।

बुँदागत रुपमा डेंगुका लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
–नाक वा गिजाबाट रगत बग्ने
–रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
बच्ने उपाय
–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।