बिर्तामोड । कनकाई नगरपालिका वडा नम्बर ६ मा निर्माण भएको वडा कार्यालय भवनको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकालाई जवाफ माग गरेको छ ।
गत बर्ष निर्माण सम्पन्न भएको उक्त भवन लागत मुल्यका आधारमा कमसल भएको भन्दै समाचार बाहिरिएपछि नगरपालिकालाई अख्तियारले जवाफ माग गरेको हो । उक्त भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो । अख्तियारले पत्र पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गौतमले पुष्टि गरे । नगरपालिकाले अख्तियारको पत्रको जवाफसमेत पठाइसकेको छ ।
इलामको सुर्योदय नगरपालिका वडा नम्बर ८ मा कार्यालय रहेको सिद्धिथुम्का निर्माण सेवा प्रा.लि.ले भवन निर्माण गरेको हो । नगरपालिकाले सुर्योदय निर्माण सेवालाई उक्त भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ९८ हजार ९३० रुपैँया ६५ पैसा उपलब्ध गराएको थियो । शौचालय बाहेक आठवटा पिलर राखेर ४० फिट लम्बाई र २२ फिट चौडाईको उक्त भवनको छानामा भने टिन लगाइएकोछ । कार्यालय भित्र आल्मुनियमले पार्टिसन गरिएको छ ।
भवन निर्माणका बिषयमा वडाध्यक्ष र स्थानीयबासीहरु समेत असन्तुष्ट छन् । भवन निर्माणका बिषयमा समाचार प्रकाशन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरेर डिजाइन स्टमेटका आधारमा नै भवन निर्माण भएको भन्दै पन्छिएको थियो ।

