झापा । नेपालको पुर्वी नाका काँकरभिट्टामा प्रहरीले व्यपारीसंग लाइन मिलाएर रकम असुल्ने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट डिउटीमा खटिएका तथा घुमुवा प्रहरीले व्यपारीहरूसंग विना भन्सार सामान छोडे बापत रकम लिने गरेको खुलेको हो ।
आर्थिक लाभका लागि आफ्नो मर्यादा समेत ख्याल नराख्दा बेलाबेला यहाँका प्रहरीहरू आलोचित हुने गरेका छन् । प्रहरीले मेची पुलमा नै पुगेर समेत व्यपारीबाट रकम असुल्ने गरेपछि केही व्यपारीले त्यसको विरोध गर्ने गरेका छन् । त्यस्तै कहिलेकाहीँ व्यपारी र प्रहरी बिच झडप कै अवस्था समेत सृजना हुने गरेको छ ।
नाकामा प्रहरीको ज्याजती भनिसाध्य छैन एक व्यपारीले भने, उनीहरूलाई चित्त बुझाएन भने पुरै दु:ख दिने गर्दछन् । भन्सार गरि लैजाने सामान पनि भन्सार कार्यालय पुर्याउन नपाइ नै रोक्ने गरेको उनको भनाइ छ ।
दैनिक रूपमा खाद्यान्न, किराना पसल तथा घरायसी प्रयोजनका लागि भारतको पानीट्याङकीबाट सामान ओसारपसार गरेर घर खर्च चलाउँदै आएका स-साना व्यपारीलाई दुःख दिदैं प्रहरीले पैसा कमाउने माध्यम बनाएर रकम असुल्ने गरेको अर्का एक व्यपारीले गुनासो गरे ।
पुरानो मेची पुलबाट आउने सर्वसाधारण र साना व्यवसायीहरूले नाकामा प्रहरीका कारण समस्या भएको गुनासो गरेपछि त्यस बिषयमा रिपोर्टिङका लागि फिल्डमा पुगेका पत्रकार माथि नै नेपाल प्रहरीले दुर्व्यवहार गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असइ तार्केश्वर सोर्णकारले रिपोर्टिङका लागि फिल्डमा पुगेका पत्रकार युवराज आचार्य र प्रविन अधिकारी माथि दुर्व्यवहार गरेका हुन् ।
सार्वजनिक स्थलमा प्रहरीले समाचार संकलनका लागि पुगेका पत्रकार माथि गरेको दुर्व्यवहारका बिषयमा सम्बन्धि जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाललाई जानकारी गराइएको थियो । तर, प्रवक्ता रिजालले असइ तार्केश्वरलाई सम्झाउनुको सट्टा उल्टै नाकाको मुख्य डिउटीमा खटाए ।
यसरी संगठनका व्यक्तिले गरेको गलत हर्कतका बिषयमा सम्बन्धि निकायका जिम्मेवार व्यक्तिलाई भिडियो सहित जानकारी गराउँदा समेत त्यस बिषयमा कुनै सुनुवाइ गर्न आवश्यक ठानेनन् । यस किसिमका गतिविधिले नाकामा हुने आर्थिक लाभका लागि जिल्ला स्थित उच्च पदस्थ प्रहरी अधिकारीहरूको पनि साथ छ कि भन्ने प्रश्न उब्जाएको छ ।

