झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भष्ट्राचारको सवालमा राज्य अब कठोर भएर जानुपर्ने बताएका छन् ।
उनले देशमा पछिल्लो समय घटेका भष्ट्राचारका काण्डहरु भुटानी शरणार्थी काण्ड, सुन काण्ड, ललिता निवास प्रकरण, वाइटबढी घोटला काण्ड जस्ता भष्ट्राचारमा जोकोहीको संलग्नता भएपनि त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

शनिबार गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै संघिय सांसद समेत रहेका महामन्त्री शर्माले अब देशमा भष्ट्राचार अन्त्य गर्न राज्य गम्भिर भएर लाग्नुपर्ने बताए ।
उनले देश भष्ट्राचार मुक्त बनाउने हो भने, अहिले विभिन्न घटनामा जोडिएका जुनसुकै पार्टी, जाती, धर्मका व्यक्तिहरु भएपनि तिनीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । त्यस कार्यमा नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको समेत उनको भनाई छ ।
आवश्यकताको आधारमा योजना छनोट नगर्दा देश अहिले ठुलो आर्थिक ऋणमा परेको उनको भनाई छ । राज्यको आवश्यकता केहो भन्ने नबुझि महत्वकाक्षी योजनाहरुलाई प्राथमिकतामा राख्दा अहिले चरम आर्थिक भार बोक्नु परिरहेको उनको भनाई छ । अब त्यस्तो कमजोरी सुधारेर जानुको विकल्प नरहेको उनी बताउँछन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं १ क्षेत्रिय समिति सभापति इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गोमा भट्टराई, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, कांग्रेस कोशी प्रदेश समिति सदस्य विमल आचार्य, झापा सभापति देउमान थेवे, उपसभापति केशवराज पाण्डे, कांग्रेस नेता राम कट्टेललगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन क्षेत्रिय सचिव राजन भट्टराईले गरेका थिए ।

