मेचीनगर। पुर्वी सिमानाकाको प्रवेशद्वारमा रहेको देवकोटा पार्क व्यवस्थापन समितिले यसवर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती भव्य रुपमा मनाउने निर्णय गरेको छ।
मंगलबार पार्क परिसरमा बसेको व्यवस्थापन समितिको बैठकले समाजसेवी एवम् पार्क व्यवस्थापन समितिका सल्लाहकार सदस्य बालकृष्ण थापाको संयोजकत्वमा ११४ औं देवकोटा जन्म जयन्ती मनाउने गरी तयारी थालिएको व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलले जानकारी दिए।

देवकोटाको पूर्णकदको शालिक समेत रहेको पार्क परिसरमा यहि आउँदो शनिबारदेखि सरसफाइ शुरु गर्दै वृहत् तयारी अगाडि बढाउने समेत बैठकले निर्णय गरेको छ। कोभीड महामारीको प्रभावका कारण अघिल्लो वर्ष देवकोटा पार्क समितिले देवकोटा जन्मजयन्तीको कार्यक्रम गर्न सकेको थिएन।

बालकृष्ण थापाको संयोजकत्वमा ६ जनाको कार्यसमिति निर्माण गरेको छ। जसमा शेखर काजी थापा, मानबहादुर तामाङ, कृष्णजित बस्नेत, सुशील घिमिरे र उदय प्याकुरेल रहेका छन्। यो समितिले कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्नका लागि आर्थिक समिति निर्माण गरेर स्थानीय सरकार, समाजसेवी, राजनीतिक दल र नेताहरु, संघसंस्थालगायतको सहयोग मार्फत कार्यक्रम गर्ने समितिका सचिव फडिन्द्र घिमिरेले बताए ।
कुनै बेला लागूऔषधको अखडा बनेको उक्त स्थान अहिले सुन्दर पार्कको रुपमा परिवर्तन भएको छ भने पार्कमा विभिन्न स्थानबाट मानिसहरु घुम्न आउने तथा बालबालिकालाई मनोरञ्जन गराउने थलोको रुपमा समेत विकास हुँदै गएको छ।

