काठमाण्डाै । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँकाे साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतवार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गर्ने साइत रहेको समितिले जनाएको छ ।
कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटकाे साइत दिइएको समितिले जनाएको छ ।
गएकाे साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ शुरु हुँदैछ । कात्तिक पहिलो हप्ता बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।

