संघ \संस्था

वनको संरक्षणमा सबै लाग्नु पर्छ : नगरप्रमुख बुढाथोकी

मेचीनगर । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका जोड्ने प्रगति सामुदायिक वन उपभोक्ता समुहको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । प्रमुख अतिथि समेत रहेको बुढाथोकीले कार्यक्रममा बोल्दै राज्यले यदि उपभोक्ता समुह मार्फत वनहरू हस्तान्तरण नगरिएको भए अहिले देशका अधिकांश वनहरू मासिने अवस्थामा पुग्ने थिए ।

अहिले जेजति सामुदायिक वनहरू रहेका छन् त्यो केवल उपभोक्ता समुहले संरक्षण गरेर मात्रै सम्भव भएको उनले बताए । उनले वनलाई केवल काठ र दाउराका लागि मात्रै परिभाषित गरियो भने गलत हुन्छ ।

उनले भने, काठ र दाउरा त गौण बिषय हो । वनले सिंगो प्रकृति जोगाउनका लागि महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले सबै समुदाय मिलेर वन जंगलको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा मेचीनगर र अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।

मेचीनगर १२, १३ र अर्जुनधारा १०, ११ नम्बर वडामा फैलिएको प्रगति सामुदायिक वन उपभोक्ता समुहले वार्षिक साधारणसभाको अवसरमा १० हजार बराबरको खेल सामाग्री, उपचारार्थ १० हजार आर्थिक सहयोग र १ सय उपभोक्तालाई विद्युतबाट चल्ने इन्फरेड चुल्हो निशुल्क वितरण गरिएको थियो ।

प्रगति सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष दिपेन्द्र निरौला (विकास) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष धनबहादुर विश्वकर्मा र सञ्चालन कार्यालय सचिव विवेक सुन्दासले गरेका थिए ।