खेलकुद

नेपालले जित्यो एसीसी यू-१९ प्रिमियर कपको उपाधि

झापा । नेपाली क्रिकेटले दसैंका लागि सबै खेलप्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू-१९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई २० रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ ।

मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउँदै यूएई २६.४ ओभरमा १७८ बनाएर अलआउट भयो । नेपालले पूरा प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन भएको हो र नेपाल यस उपाधिका लागि पूर्णतः हकदार रह्यो ।

फाइलनमा वर्षा रोकिएपछि यूएईले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सुरुमा दबाबमा राखेको थियो । तर, नेपालले बलिङ र फिल्डिङ दुवैमा सटिक प्रदर्शन गरेको थियो । नेपालका आकाश त्रिपाठीले चार विकेट लिए भने सुभाष भण्डारीको नाममा तीन विकेट रह्यो ।

यूएईका लागि ध्रुव परासरले सर्वाधिक ५६ बनाए । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । आयान अफजल खानले ३० रनको योगदान दिए । यस्तै ओपनर आर्यन्स शर्माले ३२ रन बनाए । वर्षाले खेल रोकिँदा यूएईले दुई विकेट गुमाएर ५० रन बनाएको थियो ।

त्यस अगाडि नेपालका कप्तान देव खनालको शतकको मदतले नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २८० रनको स्कोर खडा गरेको थियो । नेपालका लागि देवले कीर्तिमान शतक बनाए । उनले ९२ बलमा सय रन बनाए । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यो उनको यस प्रतियोगितामै दोस्रो शतक हो भने यू–१९ मा नेपालका लागि तेस्रो शतक हो । देव हरित सेट्टीको बलमा समातिए ।

त्यसयता देवले ओपनर अर्जुन कुमालसँग १२५ रनको ठोस सोझदारी गरे । अर्जुनलले ७८ बलमा ५५ रन बनाए र त्यसमा चार चौका सामेल थियो । उत्तर रानामगरले अन्त्यतिर उपयोगी ५७ रन बनाए । उनले ६७ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले २८ बलमा २७ रन थपे । यूएईका बलरमध्ये हरित सर्वाधिक सफल रहे र उनले सात ओभर ३६ रन खर्चेर पाँच विकेट लिए ।