खेलकुद

मेचीनगर-४ वडा कार्यालयले गर्यो ‘बी डिभिजन’ च्याम्पियन बाहुण्डाँगी क्लबलाई सम्मान

मेचीनगर । मेचीनगर-४ वडा कार्यालयले ‘बी डिभिजन’ तथा प्रधानमन्त्री कप छनोट प्रतियोगितामा च्याम्पियन बनेको बाहुनडाँगी क्रिकेट क्लबलाई सम्मान गरेको छ । 

बुधबार वडा कार्यालयमा एक संक्षिप्त कार्यक्रम आयोजना गर्दै च्याम्पियन बनेको बाहुनडाँगी क्रिकेट क्लबका खेलाडी तथा टिम व्यवस्थापनको टोलिलाई वडाध्यक्ष अर्जुनकुमार कार्की, वडासदस्य पवन बराईली, नुरबहादुर कार्कीलगायतका जनप्रतिनिधिले सम्मान गरेका हुन् ।

बाहुण्डाँगीको सान खेलकुद (क्रिकेट)को माध्यमबाट राख्न सफल भएपछि उनीहरूलाई थप हौसला प्रदान गर्न स्थानीय सरकारको तर्फबाट सम्मान गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । साथै उनले आगामी दिनमा समेत खेलाडी र खेलकुद क्षेत्रमा सहयोग गर्ने बताए ।

झापा जिल्ला क्रिकेट संघको आयोजनामा काँकरभिट्टा माविको मैदानमा गत मंसिर ३० देखि पसु १४ गते सम्पन्न ‘बी डिभिजन’ तथा प्रधानमन्त्री कप छनोट प्रतियोगिताको फाइनलमा भद्रपुर क्रिकेट क्लबलाई पराजित गर्दै बाहुनडाँगीले उपाधि पोल्टामा पारेको थियो । प्रतियोगितामा जिल्लाका १२ क्रिकेट क्लबहरुले सहभागिता जनाएका थिए ।