मेचीनगर । मेचीनगरका जनप्रतिनिधिसंग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मेचीनगरको सभाहलमा सुरक्षित आप्रवासन (सामी) ले आयोजना गरेको कार्यक्रममा नगरका जनप्रतिनिधिहरुसंग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया गरेको थियो ।

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरका पन्द्रवटै वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुरक्षित आप्रवासन कार्यक्रम सामीका संयोजक रोहित विश्वकर्माले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा लाभ ग्राहि सहभागीको तर्फबाट मीना बराल, अम्बिका भण्डारीले आफ्नो भनाई राखेका थिए । त्यस्तै सहभागि जनप्रतिनिधिको तर्फबाट मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, मेचीनगर २ का वडाध्यक्ष दिपक बराललगायतले भनाई राखेका थिए ।

वैदेशिक रोजगारीमा रहेको सदस्यको परिवारलाई सामीले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सामीले विदेशमा रहेका परिवारका सदस्यहरु जटिल प्रकृतिका प्राणघातक रोग लागेमा ५० हजारसम्म सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सामीका रोजगार परामर्शकर्ता फडिन्द्रप्रसाद दाहालले गरेका थिए ।

