समाचार

बाहुण्डाँगीबाट शुरु भयो मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुण्डाँगीबाट उदयपुरको जोगीदहसम्मको हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीव– जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ मुख्यमन्त्री कार्कीको बुधबार मेचीनगर ४ स्थित प्रसाद गौंडाबाट पदयात्रा शुरु भएको छ ।

हात्ती प्रभावित क्षेत्रमा चासो दिर्दै प्रदेश सरकारले पदयात्रा सुरु गरेपनि हात्ती पिडित किसानहरु भने त्यसको प्रभावकारीता कति हुने भन्नेमा विश्वस्त हुन नसकिरहेको देखिन्छ । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा बिशेषगरी हात्तीको समस्या रहदै आएको छ । त्यसमा पनि बिशेषगरी बाहुण्डाँगी क्षेत्रमा बर्षैदेखि बसोबास गर्दै आइरहेका मानिसहरु अझै पनि हात्तीको विधंस सहन बिवश छन् । हात्तीले मानवीय घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ ।

बर्षै बर्ष बितिसक्यो हात्ती पिडितहरुले राज्य गुहारेको । निर्वाचनको मुख्य एजेण्डा हात्ती समस्या समाधान बनाउने तर, निर्वाचित भए पश्चात हात्ती समस्या समाधानमा खासै चासो नदिने नियती भोग्न हात्ती प्रभावित क्षेत्रका बासीन्दा बाध्य छन् । बर्षभरी मेहनत गर्यो खेतीबाली लगायो तर, हात्तीले एकै रातमा तहस नहस पार्दीन्छ । हात्तीको कारण न त अन्न भित्राउन पाइन्छ नत क्षती वापतको रकम नै समयमा पाइन्छ । ठुलो समस्या रहेको बाहुण्डाँगीबासीको गुनासो छ ।

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै हात्तीमैत्री पर्यापर्यटन विकास गर्न कोशी प्रदेश सरकार लागि परेको जनाएको छ । कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल, उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा शुरु गरिएको बताएका छन् । जनता र हात्ती दुबैलाई दुःख नहुनेगरी समस्या समाधान खोज्न गाउँबस्तीमा आएको उनले बताए ।

‘जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो’ मुख्यमन्त्री कार्कीले भने, ‘समस्या पहिचान गर्ने प्रयास हो । सिंगो सरकार जनताको ठाउँमा समस्या हेर्न आएका हौं । दुःख बुझ्न आएका हौं ।’ सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने उनको भनाइ छ ।

सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएर अघि बढेको कोशी प्रदेश पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेती बताउँछन् । उनका अनुसार पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, हात्तीविज्ञ, नागरिक समाजको सहभागिता रहेको छ । मुख्यमन्त्री कार्कीसहितको टोलीले जैविक मार्गमै पर्ने ७ स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् । बाहुण्डाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।

मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदलयात्रा गर्ने रुट तय गरिएको छ । चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने कायतालिका रहेको छ । झापामा मात्र २०६७ यता हात्तीसँगको द्वन्द्वमा ६५ जना मानिस र २१ हात्तीको मृत्यु भएको छ ।

पदयात्रा उद्घाटन कार्यक्रममा कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, प्रदेश सदस्य सविना बजगाई, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, हात्ती पीडित परिवारकी जगनमाया थापालगायत सहभागी थिए ।