खेलकुद

दोस्रो झापा प्रिमियर लिगको सम्पूर्ण तयारी पुरा

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा वैशाख २९ गते भोलिदेखि सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

बिगत तीन दशक अघिदेखि मोफसलमा क्रिकेट खेलको प्रवर्द्धन गर्दै आएको मिलन क्रिकेट क्लब मेचीनगरले यसअघि नै पूर्वबाट राष्ट्रिय टिममा समेत उल्लेख्य खेलाडीहरू सहभागी गराउन सफल बनिसकेको छ ।

२०५२ सालमा स्थापना भएपश्चात निरन्तर नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धीलगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको क्लबले दोस्रो पटक जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग आयोजना गर्न लागेको आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले बताए ।

मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा जेठ ४ गतेसम्म सञ्चालन हुने लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले खेलाडीहरुलाई व्यवसायी बनाउँदै समग्र क्रिकेट क्षेत्रको विकासलाई टेवा पुर्याउने उद्देश्यका साथ लिगको आयोजना गरिएको बताए ।

प्रतियोगितामा ३ लाख १५ हजार रकम खर्च हुने अनुमान गरिएको छ । एन.एस वारियर, एल.आर.हन्टर्स र एस.के.सुपरकिङ्सले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समेत समान ५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा एक जनाले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचको व्यवस्था गरिएको छ । म्यान अफ द म्याच घोषित हुने खेलाडीले एक हजार ५ सय नगद प्राप्त गर्नेछन् ।