खेलकुद

चन्द्रगढीलाई पराजित गर्दै आयोजक इँटाभट्टा सेमिफाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ब्रदर्श युनाइटेड चन्द्रगढीलाई ट्राइब्रेकरमा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिमबाट निर्धारित समयमा समान २/२ गोल भएपछि खेलको नतिजा ट्राइब्रेकरबाट लिइएको थियो । जसमा आयोजकले ३-१ गोलअन्तरले बाजी मार्यो ।

अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा दुवै टिमले पहिलो हाप गोलरहित खेले । दोस्रो हापको १० औं मिनेट अर्थात खेलको ४५ मिनेटमा आयोजकको तर्फबाट मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यो अग्रता लामो समय टिकेन खेलको ५२ औं मिनेटमा ब्रदर्श युनाइटेड चन्द्रगढीका बबिन बोहराले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । त्यस्तै खेलको ५८ औं मिनेटमा ब्रदर्श युनाइटेडको तर्फबाट सबिन मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको अतिरिक्त समयमा आयोजकका विशाल दर्जीले गोल गर्दै टिमलाई हारबाट जोगाए । निर्धारित समयमा समान गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो ।

ट्राइब्रेकरमा आयोजकले ३ गोल गर्दा ब्रदर्श युनाइटेडको तर्फबाट १ गोल मात्रै भयो । जीतसंगै आयोजकले अब बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा शनिश्चरे फुटबल क्लबसंगको भेट पक्का गरेको छ ।

आजको खेलको म्यान अफ द म्याच विजेता टिमका गोलरक्षक युवराज पुरी घोषित भए ।

इँटाभट्टा फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको जिल्ला स्तरिय फुटवल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।

यसैगरी, विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार हुने पहिलो सेमिफाइनल खेल झापा एफसी राजगढ र ह्याप्पी क्लब काँकडभिट्टा बिच हुने आयोजक क्लबका सचिव रामकुमार गिरीले जानकारी दिए ।