मेचीनगर । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा सम्पन्न प्रथम इँटाभट्टा फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लब काँकरभिट्टाले जितेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाइनल खेलमा आयोजक इँटाभट्टा फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै ह्याप्पी क्लब काँकरभिट्टाले उपाधि चुमेकाे हो ।

शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजकका निशान लिम्बूले ३५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ह्याप्पी क्लबका आशिष चापागाइँले ४४औँ मिनेटमा गोल गरी बराबरी गरेका थिए ।
खेलको छिनोफानोका लागि रोजिएको टाइब्रेकरमा पनि समान २-२ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा अन्ततः ३-२ गोलअन्तरमा बाजी मार्दै ह्याप्पी क्लबले उपाधि रक्षा गर्यो ।

खेलको बेस्ट प्लेयर आयोजकका निशान लिम्बू भए । उनले नगद १५ हजार पाए । सर्वाधिक गोलकर्ता बनेका उनीसँगै आशिष चापागाईले समान ३-३ हजार बाँडे । यस्तै, आशिषले नै बेस्ट स्ट्राइकर बनेसँगै नगद ५ हजार हात पारे ।
यसैगरी, आयोजकका रविन मगर बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर ह्याप्पी क्लबका मौसम लिम्बू, खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक युवराज पुरी, राइजिङ प्लेयर आयोजकका रोजक लिम्बू, बेस्ट गोलकिप्पर ह्याप्पी क्लबका देवान भुजेल र बेस्ट कोच ह्याप्पीकै दिपक राई भए ।
सबै विधागत पुरस्कारका विजेता खेलाडीले नगद ५-५ हजार पाए भने प्लेयर अफ दी म्याच र राइजिङ प्लेयरले जनही २ हजार ५ सय पाए ।
प्रतियोगिता विजेता ह्याप्पी क्लबले नगद १ लाख १ हजार १११ र उपविजेता आयोजकले नगद ५१ हजार १११ सहित आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियाेगिता इँटाभट्टा एफसीकाे आयाेजना तथा मेचीनगर ८ नम्बर वडा कार्यालय सहआयाेजक रहेकाे थियाे ।
आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बूको अध्यक्षतामा आयोजित समापन शत्रमा नेपाली काँग्रेस झापा उपसभापति तथा सामाजिक व्यक्तित्व मेचीनगर ७ इँटाभट्टा निवासी केशवराज पाण्डे प्रमुख अतिथि थिए । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), महासचिव सेरबहादुर बस्नेत (सुन्दर), मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, वडासदस्य तथा वडा खेलकुद संयोजक बिष्णु भट्टराई, कुन्दन निरौला, कविता मिजार र मनकुमारी गिरीलगायतको जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सहयोगी दाताहरूको आतिथ्य रहेको क्लबका उपाध्यक्ष रमेश धिमालले जानकारी दिए ।

