खेलकुद

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : मेचीनगर र गौरादह सेमिफाइनलमा प्रवेश

मेचीनगर। मेचीनगर नगरपालिका बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि-२० क्रीकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटर फाईनल खेलमा कचनकवल गाउँपालिकालाई पराजित गर्दै मेचीनगर प्रतियोतिाको सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै आज नै भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई पराजित गर्दै गौरादह नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेचीनगर नगरपालिकाले कचनकवल गाउँपालिकालाई ५३ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले कचनकवल सामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।मेचीनगरले १९।१ ओभरमा सबै विकेट गुमाएर सन्दिप ढुंगानाको ४७ र अमित श्रेष्ठको ५५ रनको योगदानले १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको कचनकवल गाउँपालिकाले १८ ओभरमा अलआउट हुँदै मात्र १०८ बनाउन सफल भयो। मेचीनगर लाई जित दिलाउन ४७ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सन्दिप ढुंगाना खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ ,मेडल र ट्रफी प्राप्त गरे।

आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ७२ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गर्यो । टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले ७५ र अर्जुन यादवले ३४ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा १९।५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४३ रन बनाउन सफल भयो। गौरादहलाई बिजय दिलाउन महत्त्वपूर्ण ७५ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सुरज न्यौपाने खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार,मेडल र ट्रफी प्राप्त गरे ।

त्यसैगरि भोलिको पहिलो सेमिफाइनलमा बिर्तामोड र गौरादह नगरपालिका भिडने छन् भने दोश्रो खेल भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका बिच रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।