समाचार

जनतामा निहित संविधान मास्न खोज्दै सत्तारुढ दल : प्रचण्ड

झापा । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा निहित लेखिएको संविधान अहिलेको सत्तारुढ दलहरुले मान्न नचाहेको आरोप लगाएका छन् ।

शनिबार माओवादी केन्द्र दमक नगर समितिको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमाले दुई ठुला दलहरु मिलेर बनेको वर्तमान सरकारले जनतामा निहित संविधानलाई मास्न अध्यादेश ल्याउने प्रपञ्च गरिएको बताए ।

त्यस्तै सरकारबाट बाहिर रहेपछि पछिल्लो समय खरो रुपमा प्रस्तुत हुँदै आइरहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा पनि वर्तमान सरकार र ओलीको चर्को आलोचना गर्न व्यस्त रहे । उनले प्रधानमन्त्री ओलीलाई संघीयता र उत्पीडित समुदायले संविधानमार्फत् पाएको अधिकार मन नपरेकोसमेत टिप्पणी गरे ।

‘संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन,’ उनले भने, ‘केही शक्तिहरु अहिले पनि कहीँ न कहीँ प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौँ ।’

तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेन्डासहित देशव्यापी अभियान थालेको स्मरण गराउँदै प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी अभियानको रुपमा अघि बढाउने बताए ।

आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ,’ प्रचण्डले भने, ‘यो निरन्तर अघि बढ्ने छ ।’ आफूले जनयुद्धमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।