खेलकुद

पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक

मेचीनगर । पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । आज काँकरभिट्टामा एक कार्यक्रमका बीच पाँचौं मेचीनगर गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गोल्डकप मुल आयोजक समिति, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका पदाधिकारीसहित प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले लोगो सार्वजनिक गरे ।

काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ देखि २८ गतेसम्म गोल्डपक सञ्चालन हुँदैछ । प्रतियोगिताका आर्थिक समिति संयोजक तथा मेचीनगरका पूर्व नगरप्रमुख बिमल आचार्यले मेचीनगरमा धेरै राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएको बताए । उनले प्रतियोगिताले खेलाडी र खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले झापा फुटबलको हब बन्दै गएको बताए । उनले शिक्षा र खेलकुदलाई सँगसँगै लानुपर्ने धारणा राखे । “युवालाई कुलतबाट बचाउन खेलकुदले सहयोग पु¥याउँछ”, उनले भने, “गोल्डकप सफल बनाउन सबैको साथ सहयोग जरुरी रहन्छ, मेरोतर्फ सक्दो सहयोग गर्छु ।”

कार्यक्रममा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका गंगालाल गुरुङले नेपालसँगै भुटान, सिक्किम, दार्जिलिङ लगायतका टिमलाई प्रतियोगिता सहभागी गराउन पहल भइरहेको जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

गोल्डकपको संरक्षकको रुपमा रहेको मेचीनगर नगरपालिकाले २५ लाख रुपैयाँ दिने भएको छ । टाइटल स्पोन्सरका लागि १५ लाख रुपैयाँ तोकिएकाले स्पोन्सरको खोजी भइरहेको आयोजकको भनाइ छ ।

कोशी प्रदेशका पूर्व सांसद् श्रीप्रसाद मैनालीको संयोजकत्वमा ३२१ सदस्यीय गोल्डकप मूल आयोजक समिति गठन गरिएको छ । लागो सार्वजनिक कार्यक्रममा अध्यक्षकाचे रुपमा बोल्दै मैनालीले मेचीनगरको पहिचानको रुपमा मेचीनगर गोल्डकपलाई अगाडी बढाइएको बताए । यसलाई सफल बनाउन आफुहरु लागि परिरहेको बताए । उनले मेचीनगर गोल्डकप समग्र मेचीनगरकै प्रतिष्ठाको रुपमा रहेको हुँदा सबै मिलेर प्रतियोगितालाई सफल बनाउन पर्ने उनको भनाइ छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओलीले प्रतियोगितामा काठमाडौंको ए डिभिजनका ४ वटा क्लबसहित आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब र विदेशी २ टिम गरी जम्मा आठ टिमको सहभागिता रहने बताए । गोल्डकप बिजेता टिमलाई नगद १० लाख र उपविजेतालाई नगद पाँच लाख दिइने उपाध्यक्ष अशोक राईले जानकारी दिए ।

गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको कार्यक्रमको सञ्चालन मुल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।