संघ \संस्था

धुलाबारी खानेपानी उपभोक्ता समितिको २४ औं बार्षिक साधारण सभा सम्पन्न

धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार धुलाबारीस्थित पासाङ ल्हामु स्मृति भवन टाउन हलमा संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको हो । २०५२ सालमा स्थापना भएको यस संस्थाले धुलाबारी बजार मात्रै नभएर मेचीनगरका ९, १०, ११, १४ र १५ नं वडा लगायतका क्षेत्रका भागहरुमा स्थानीयलाई शुद्ध पिउने पानी आपूर्ति गर्दै आइरहेको छ ।

झापा जिल्लाको उत्तरी सीमाक्षेत्र अन्तर्गत रहेको बुद्धशान्ति गाउँपालिका वडा नं ६ मा पर्ने पहाडको काखमा रहेको जरुवा मूलको पानीलाई प्रमुख स्रोतको रुपमा उपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले हालसम्म आइपुग्दा ६ हजार बढी परिवारलाई शुद्ध पिउने पानी वितरण गरिरहेको संस्थाका अध्यक्ष धनकाजी खत्रीद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, निजी धारा जडान प्रक्रिया लगातार बढ्ने चरणमा रहेको र पाइपलाइन विस्तार नभएका क्षेत्रमा विस्तारका लागि अत्यधिक माग भइरहेको समेत अध्यक्ष खत्रीले जनाएका छन् । यसरी बढ्दो रुपमा रहेको मागलाई मध्यनजर गर्दै संस्थाले आर्थिक वर्ष २०८०÷८१ र चालु वर्षको माघ मसान्तसम्म करिब ११ किलोमिटर पाइपलाइन थप गरेको समेत उल्लेख छ ।

एकातर्फ दिनप्रतिदिन पानी उपभोग गर्ने उपभोक्ताहरुको संख्या बढ्दै जानु र अर्कोतर्फ विभिन्न समयमा बाढी र पहिराले क्षति पुर्याउनुका साथै नदीमा रहेको ढुंगा वालुवा जथाभावी ढंगबाट उत्खनन् हुने जस्ता कार्यबाट मुहान क्षेत्रमा रहेका पानीका मुलहरु सुक्दै जानु वर्तमान चुनौतीका रुपमा अध्यक्षले आंैल्याएका छन् ।

यसैगरी, प्रतिवेदन प्रस्तुत गर्दै उनले समितिको नाममा संस्थाको आयोजना सञ्चित कोष अन्तर्गत दुई करोड २० लाख रुपैयाँ सञ्चित रहेको तथ्यांक प्रस्तुत गरे । यसैगरी, यो आर्थिक वर्षमा समितिको मुख्य कार्यालयको महसुल काउण्टर तथा कार्यालयलाई अपांग मैत्री बनाइने समेत अध्यक्षले प्रतिवेदनमा लेखेका छन् ।

झापा क्षेत्र १ का सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुखको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथि उप्रेतीसँगै संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, चारआली खानेपानी संस्थाका अध्यक्ष राजन चिमरिया, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी नेतृ सविता भण्डारी, मेचीनगर नगरपालिकाका संस्थापक उपप्रमुख चन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले पानीका मुहानहरु सुक्दै जानु प्रत्येक नागरिकसँग जोडिएको विषय भएकाले अब प्रत्येक नागरिक पानीका मूल तथा मुहानहरु बचाउन तर्फ अग्रसर हुनुपर्ने बताए । ‘एउटा निजी धारा जडान गर्दै गर्दा कम्तिमा ५ वटा विरुवा रोपौं । पानीका मुहानहरु लक्षित गरी वृक्षारोपण गरौं । तब मात्रै पानीको मूल मुहानहरु बच्नेछन्,’ उनले भने ।

कार्यक्रममा काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष रोहित बुढाथोकी, संस्थाका पूर्व तथा वर्तमान नेतृत्वका पदाधिकारी तथा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो भने उल्लेख्य रुपमा उपभोक्ताहरु सहभागी भएका थिए । संस्थाका अध्यक्ष खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष हिमालय आङ्देम्बेले गरेका थिए भने सचिव उमानाथ सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।