खेलकुद

पाँचौं मेचीनगर गोल्डकपको सम्पूर्ण तयारी पूरा, उद्घाटनमा शनिबार आयोजक र भारतको जर्जियन एफसी खेल्ने

झापा । झापाको मेचीनगरमा फागुन २४ शनिबारदेखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज काँकरभिट्टा खेल मैदानमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिँदै गोल्डकपक मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बिगत ६ बर्षदेखि सञ्चालन हुन नसकिरहेको गोल्डकपको पाँचौं संस्करण सफलता नजिक पुगेको बताए । उनले समग्र मेचीनगरको उत्साहजनक साथ र सहयोगका कारण गोल्डकप पुर्ण रूपमा सफल हुनेमा आफुहरू विश्वस्त रहेको जानकारी दिए ।

आयोजकले टिम व्यवस्थापन देखि खेल हेर्न आउने दर्शकहरूका लागि अस्थायी बासको प्यारापिटको उचित व्यवस्थापनलगायत खेल मैदानको कार्य सम्पन्न गरिसकेको बताउँदै उनले अब खेलाडीले खेल खेल्ने र दर्शकले फुटबल हेर्ने कार्य मात्रै बाँकी रहेको बताए ।

त्यस्तै समितिका सहसंयोजक तथा आर्थिक समिति संयोजक विमल आचार्यले प्रतियोगिता सम्पन्न गर्न सबैको साथ पर्याप्त रहेको जानकारी दिए । गोल्डकप सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यवसायी, मेचीनगर नगरपालिका, खेलकुद विकास समिति कोशी प्रदेश, संस्थापक सदस्यलगायतबाट आवश्यक साथ जुटेको कारण अनुमानि खर्च गर्न आर्थिक समस्या नरहेको उनको भनाइ छ ।

गोल्डकपको अघिल्लो संस्करण भन्दा अझ भव्य, र व्यवस्थित बनाउन आयोजक समिति लागि परिरहेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए । उनलेे करिब ६ हजार दर्शकले सहजरूपमा प्रतियोगिताको अवलोकन गर्न पाउने बताए ।

प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने भएको छ । दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् ।

प्रतियोगिताको संरक्षणमा मेचीनगर नगरपालिका रहेको छ ।