काठमाडौं, साउन १८ । बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको बार्ता बालुवाटारमा जारी छ। बिहान दश बजेतिर बैठक शुरु भएको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसँग भेटवार्ता गर्न दाहाल र खनाल बालुवाटार पुगेका हुन्। १३ साउनमा स्थायी कमिटी बैठकबारे दुई अध्यक्षले छुट्टा–छुट्टै निर्णय लिएपछि पहिलो पटक भेटवार्ता भएको हो।
एक साता स्थगित भएर १३ साउनमा बोलाइएको बैठक ओलीले एक्लौटी निर्णयका आधारमा अनिश्चितकालका लागि स्थगित गरेका थिए भने दाहालले बहुमत सदस्यहरुको बैठक राखेका थिए। तर, दुवै समूहले वार्ता जारी राख्ने निर्णय गरेका थिए।
गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठककै बीच नेकपा विभाजनकै नजिक पुगेको छ।

