स्वास्थ्य

आइतबार थपिए ३८० कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, साउन २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार५ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ३ सय ५३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ११ हजार ३८ रहेको डा. गौतमले जानकारी दिए ।