विविध

बाहुण्डागीको सिद्धिनहर पहिरोले बगायो, १७ सय हेक्टर जमिनमा सिंचाई अभाव हुने

मेचीनगर, भदौ १३ । बाहुण्डागी क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धि नहर पहिरोले बगाएको छ । नहर बगाएसँगै बाहुण्डागी क्षेत्रको कृषि योग्य जमिनमा सिंचाई अभाव हुने भएको छ ।

मेचीनगर १ नम्बर वडाको दलदले रमिते खण्डमा गएको साउन २ र ३ गतेको वर्षाका कारण पहिरो गएको स्थानीयले बताएका छन् । सोहि पहिरोले नहर बगाएको सिद्धिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो ।

अध्यक्ष तिवारीका अनुसार पहिरोले करिब २५ मिटर नहर पूरै बगाएको छ भने थप १ सय मिटर नहर भत्किएको छ । पहिरोका कारण नहरमा करिब २ करोड बराबरको क्षतिभएको तिवारीले बताउनु भयो । तिवारीले भन्नु भयो, अब मर्मत गर्न तलैदेखि जालीले बाँधेर ढुंगा भर्नु पर्छ, यो कार्य जटिल र खर्चिलो छ । मर्मत सम्भारका लागि प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीलाई स्थलगत अवलोकन गराई अनुरोध गरिएको र सकरात्मक आश्वसन पाएको समितिका उपाध्यक्ष लीला न्यौपानेले बताउनु भयो ।

साँसदद्वारा भत्किएको नहरको अवलोकन, मर्मतमा सहयोग गर्ने प्रतिबद्धता

बाहुण्डागीको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको सिद्धि नहर पहिरोले भत्काए पछि कृषकहरु चिन्तित बनिरहेका बेला प्रदेश साँसद श्रीप्रसाद मैनालीसहितको टोलीले आज (शनिबार) भत्किएको नहरको स्थलगत अवलोकन गरेको छ । सिद्धि खोला सिंचाई जल उपभोक्ता समितिको अनुरोधमा साँसद सहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको हो ।

अवलोकनका क्रममा साँसद मैनालीले नहर निर्माणमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने बताउनु भयो । यो बाहुण्डागीका कृषकहरुको जीवनसँग प्रत्यक्ष जोडिएको छ, साँसद मैनालीले भन्नु भयो, नहरमर्मत र पुननिर्माणमा आवश्यक सहयोग जुटाउन म पहल र प्रयास गर्नेछु । स्थानीय, प्रदेश तथा संघीय सरकार जहाँबाट भए पनि नहर मर्मत गर्न आफुले सकेको पहल गर्ने प्रतिवबद्धता साँसद मैनालीले व्यक्तगर्नु भएको छ । साँसदको टोलीमा नेपाल कम्युनिष्ट पार्टी मेचीनगरका अध्यक्ष माधव अर्याल, सचिव राजु पोखरेल, नेपाल पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्यलगायत रहेका थिए । अवलोकन टोलीलाई जल उपभोक्ता समितिका अध्यक्ष निलकण्ठ तिवारी, उपाध्यक्ष लीला न्यौपाने, सचिव इन्द्र ढकाल, शान्तिराम गुरागाईलगायतले अवस्था र असरका बारेमा जानकारी गराएका थिए ।

बाहुण्डागीमा सडक कालो पत्रे हुने क्रमतिब्र
बाहुण्डागीको आलडाँगीदेखि गाडागल्लीसम्म साढे पाँचकिलो मिटर सडक कालो पत्रे हुने भएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा सम्पन्न गर्ने गरी सो सडक कालो पत्रे गर्न करिब ७ करोडमा ठेक्का सम्झौता समेत भई सकेको प्रदेश सभा सदस्य श्रीप्रदास मैनालीले बताउनु भयो । सडक विभाग अन्तरगतको योजनामा सडक कालो पत्रे गर्ने कार्यको पूर्व तयारीका लागि आजै (शनिबार) नै इन्जीनियर र ठेकेदारका प्रतिनिधिसहितको टोलीसँग स्थलगत अनुगमन भएको साँसद मैनालीले बताउनु भयो । साँसद मैनालीका अनुसार केहि दिनभित्रै कालो पत्रे गर्ने कार्य सुरु हुने छ ।