
काठमाण्डौं, चैत २२ । प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ ।
जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिनेछ ।सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटा नेपाल सरकारका प्रवक्तासमेत हुन् ।संघीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नम्बर–२ का मुख्यसचिवलाई संयोजनको जिम्मेवारी दिएको छ ।यस समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।
यी आवासको निर्माण गर्ने जिम्मा नेपालका कठिन भौगोलिक क्षेत्रमासमेत सडक पुर्याएर प्रशंसा आर्जन गरिरहेको नेपाली सेनाले पाएको छ ।सरकारको पछिल्लो निर्णयबाट वर्षात्को बेला आँधीहुरी प्रभावित जनता कहाँ सुरक्षित ओत लाग्ने भन्ने चिन्ता गरिरहनु नपर्ने र पहिलेको तुलनामा बढी सुरक्षित जीवनयापन गर्न सहज हुने देखिएको छ । रासस

