काठमाडमैं, चैत १२ । कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन सरकारले सबैसँग आग्रह गरेको हो ।
भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सङ्क्रमणको अवस्था बढेमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै होली मनाउँदा भेला नभइ घरपरिवारमा सीमित गर्न आग्रह गर्नुभयो।
यस्तै गृह मन्त्रालयले पनि सबै जिल्ला प्रकाशन कार्यालयलाई जमघट रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भीडभाड नगर्न आग्रह गरेपछि त्यहीअनुसार भीडभाड हुने र धेरै मानिस जमघट हुने कार्यक्रम बन्द गराउन भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । समूहमा होली पर्व मनाउने, अरू भेला गरेमा प्रहरीले कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।

