झापा, चैत २५ । नेपाल पत्रकार महासंघको चुनाव आज हुँदैछ । आगामी कार्यकालका लागि केन्द्र, प्रदेश र जिल्लाको कार्यसमिति चयनका लागि आज देशैभरि एक पटक चुनाव हुँदैछ । पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको एकै पटक चुनाव हुने यो नै पहिलो हो ।
महासंघका साधारण सदस्य सबैले जिल्लादेखि प्रदेश र केन्द्रको समेत नेतृत्व चयनका लागि मतदान गर्न पाउनेछन । देशभरका करीब १४ हजार पत्रकार मतदाताले आज मतदान मार्फत तीनै तहको नेतृत्व चयन गर्दैछ ।
झापामा पत्रकारको जिल्ला नेतृत्व चयनका लागि आज बिर्तामोडमा मतदान हुँदैछ । बिहान ९ बजेदेखि हुने मतदानमा झापाका २६३ पत्रकार मतदाताले भाग लिंदैछन ।
झापाको पत्रकार महासंघको नेतृत्व लिनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाल प्रेस युनियन नेतृत्वको संयुक्त लोकतान्त्रीक प्यानलबाट एकराज गिरीको अध्यक्षमा उम्मेद्वारी परेको छ भने प्रेस चौतारीबाट अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । तीर्थ सिग्देल र बिशाल नेम्वाङको प्रेस चौतारीबाटै अध्यक्ष पदमा उम्मेद्वारी परेको हो ।
आज बेलुका ५ बजेसम्म मतदानको समय रहने र भोलि बिहान ७ बजेदेखि मतदान भएकै स्थानमा मतगणना हुने निर्वाचन समितिका संयोजक चिन्तामणी दाहालले जानकारी दिनु भयो ।

