स्वास्थ्य

बिर्तामोड खोप प्रकरणमा त्रुटि गराउनेलाई कारबाही सिफारिस

झापा, भदौ ७ । बिर्तामोड खोप प्रकरणमा आरोपित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खोम खड्काले सफाइ पाएका छन् ।

खोप प्रकरणको छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन आज सार्वजनिक गरेपछि त्यस्तो निश्कर्ष निस्किएको हो । छानबिन समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो ।

छानविन समितिको प्रतिवेदनमा खोप अनियमितताका लागि होटलमा नपुराइएको निश्कर्ष निकाल्दै तर गम्भीर त्रुटि भएकाले केही कर्मचारीलाई कारबाहीको सिफारिस भने गरेको छ ।

समितिले खोप बुझाउने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले खोप बुझ्ने र बुझाउने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्न राय प्रस्तुत गरेको छ ।

प्रतिवेदन बुझेपछि प्रजिअ श्रवणकुमार तिमिल्सिनाले समितिलाई धन्यवाद दिँदै डीसीसीएमसीको वैठकमा प्रतिवेदन पेश गर्ने र डीसीसीएमसीको निर्णय बमोजिम कारवाहीका लागि माथिल्लो निकायमा पठाउने बताए ।

साउन १५ गते बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले होटल टाइमलेस मोमेण्टमा खोप लुकाएको आरोप लागेको थियो । बिर्तामोडका केही व्यापारी र सामाजिक संघ संस्थामा आवद्ध युवाले खड्काले खोप लुकाएको आरोप लगाएका थिए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोषाध्यक्ष रञ्जित प्रसाई, रासस झापा प्रमुख अम्बिका भण्डारीको उपस्थितिमा प्रतिवेदन बुझाइएको हो ।