मेचीनगर, भदौ ३० । “राष्ट्रका लागि युवा, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ झापाको मेचीनगरमा दोस्रो “युवा कप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा मेचीनगरका २० टिमको सहभागी रहने उक्त प्रतियोगिता यहि असोज १ गते देखि ७ गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष मानबहादुर तामाङले बताए ।
मेचीनगर ६ काँकरभिट्टास्थित काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रथम पुरस्कारको प्रायोजन युवा समाजसेवी बालकृष्ण थापाले गरेका छन् । दोस्रो पुरस्कार राशि भने नेपाल खेलकुद महासंघ नेपालले प्रायोजन गरेको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सार्वेत्कृष्ट खेलाडीलाई ट्रफि तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधि भर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरिने आयोजक कमिटिले बताएको छ ।
आयोजकद्वारा प्रतियोगिता सम्बन्धि जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा युवा समाजसेवी बालकृष्ण थापा, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रवीन ओझा, राष्ट्रिय युवा संघ नेपाल क्षेत्रीय इन्चार्ज नारायण खनाल, नगर इन्चार्ज सञ्जय मेचे, मेचीनगर कमिटि अध्यक्ष मानबहादुर तामाङ, युवा संघका नेता सञ्जय तामाङलगायतको उपस्थिति रहेको थियो ।

