अर्थ स्वास्थ्य

आगलागीबाट घाइतेको उपचार खर्च नगरपालिकाले ब्यहोर्ने

मेचीनगर । मेचीनगर ७ स्थीत इन्द्रेणी टोलमा पुष २१ गते राति भएको आगलागीमा परी घाइते हुनेहरुको उपचार खर्च तत्कालका लागि मेचीनगर नगरपालिकाले ब्यहोर्ने भएको छ ।

मेचीनगर नगरपालिकामा आज भएको नगरस्तरिय विपद ब्यवस्थापन समितिको बैठकले झापाका विभिन्न अस्पतालमा उपचार गराइरेहका आगलागीका घाइतेहरुको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले बताउनु भयो । 

त्यस्तै आगलागीमा परी मृत्यु भएका शरद राजबंशीको परिवारलाई सरकारी राहत उपलब्ध गराउन जिल्ला विपद ब्यवस्थापन समितिमा सिफारिस गर्ने समेत निर्णय भएको नगरप्रमुख आचार्यले बताउनु भयो ।

आगलागी पिडितहरुका लागि तत्कालका लागि खाद्यान्नको ब्यवस्थापन समेत नगरपालिकाकै तर्फबाट गर्ने निर्णय भएको नगरका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनु भयो । वस्तीका अनुसार आगलागी पिडितका लागि आवश्यक जिन्सी सामग्री ब्यवस्थापनका लागि जिल्ला रेडक्रस सोसाइटि झापालाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । बिरामीको अवस्था हेरी उपचाररत बिरामीहरुलाई भद्रपुरस्थीत मेची अस्पतालमा रेफरका लागि बिएण्डसी अस्पताल र बिर्तासिटि अस्पताललाई अनुरोध गर्ने बैठकले निर्णय गरेको बरिष्ठ प्रशासकिय अधिकृत वस्तीले बताउनु भयो ।

यसैबिच आगलागीमा परी गभ्भिर घाइते भएर बिर्तामोडस्थीत बिएण्डसी र बिर्तासिटि अस्पतालमा उपचार गराइरहनु भएकाहरुको नगरप्रमुख आचार्य सहितको टोलीले अस्पतालमानै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएको छ । बुधबार राति स्थानीय कुमार पाण्डेको परिवार डेरा गरी बसेको घर आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने घर भित्र रहेको एउटा मोटरसाईकल सहित सम्पूर्ण सामग्री आगलागीबाट नष्ट भएको थियो । 

आगलागीमा परी १६ जना घाइते भएका मध्ये ६ जनाको बिर्तामोडस्थीत बिएण्डसी अस्पताल र एक जनाको बिर्तासिटि अस्पतालमा उपचार भइरहेको छ भने ९ जना उपचार पछि घर फर्किसकेका छन ।