राजनीति

एमालेको भिजनले हल्दिवारीको मुहार बदलिएको छ : उपाध्यक्ष गिरी

विर्तामोड। झापा हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले पाँच वर्षमा गरेका प्रगति सार्वजनिक गर्नुभएको छ । उहाँले आज गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

हल्दिवारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटर भन्दा बढी कालोपत्रे सडक निर्माण गरेको उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे ३४ किलोमिटर सडक कालोपत्रे निर्माणको क्रममा रहेको छ । यसै आर्थिक वर्ष मात्रै ९७ स्लाव कल्भर्ट निर्माण गरिएको गिरीले प्रगति विवरणमा उल्लेख गर्नुभएको छ ।

भौतिक पूर्वाधार तर्फ सडक निर्माणलाई प्राथमिकता दिएको हल्दिवारीमा १२५ किलोमिटर सडकलाई ग्राभेल गरिएको र ८५ किलोमिटरभन्दा बढि सडकको स्तरोन्नति गरिएको उपाध्यक्ष गिरीको भनाई थियो । उहाँले ८६ किमि क्षेत्रमा खानेपानीको विस्तार गर्दै ५ सय विपन्न परिवारलाई निशुल्क खानेपानी जडान गरिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गिरीले वडा नं. २ मा सामुहिक आवासको लागि १३ वटा आवास निर्माण गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले गरिव तथा विपन्न परिवारको लागि ३३ वटा आवास निर्माण गरि हस्तान्तरण समेत गरिसकेको बताउनुभयो । गाउँपालिकाभित्र रहेका अधिकांश विधालय भवन सुविधा सम्पन्न बनाउँदै लक्ष्मी माविमा १८ वटा व्यवसायिक सटर समेत निर्माण गरिएको जानकारी दिइएको छ ।

हल्दिवारी नमूना माविको तिन तले ९ कोठे भवन निर्माण गरिएको उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । उनले १३ वटा विधलायको भवन निर्माण गरिएको बताउनुभयो ।

उपाध्यक्ष गिरीले आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार सहायता परिचालन कोष सञ्चालन गरेर ६ सय नागरिकलाई सहयोग गरेको बताउनुभएको छ । तीन वटा प्याथोलोजि ल्याव सञ्चालनमा ल्याएर गाउँपालिकाका नागरिकलाई विशेष सेवा प्रदान गरिएको बताउनुभयो ।

स्वास्थ्य संस्था बिहीन हल्दिवारी वडा नं. ३ र ५ मा समेत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ । यस्तै, हल्दिवारीमा निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत कक्षा १२ सम्म निशुल्क पठनपाठनको व्यवस्था मिलाइएको गिरीले जानकारी दिनुभयो । गाउँपालिकाले प्राविधिक शिक्षा (बाली विज्ञान) समेतलाई निशुल्क अध्ययनको व्यवस्था गर्दै ८३ जना विधार्थीलाई पढाएको उपाध्यक्ष गिरीले बताउनुभयो ।

उपाध्यक्ष गिरीले शिक्षा क्षेत्रमा हल्दिवारीले देशभरमै उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिनुभयो । गाउँपालिकाभित्र कम्प्युटर शिक्षालाई अनिवार्य गर्दै कृषि, पर्यटनको क्षेत्रमा आम नागरिकको अपेक्षा अनुसारको प्रगति गरिएको बताउनुभयो ।

हल्दिवारीको बाचा, झापाभरी माछा कार्यक्रम सञ्चालन गरेर विषादीयुक्त भारतीय माछालाई प्रतिवन्ध गर्न सफल भएको दावी गर्नुभयो । उहाँले भूमिगत सिंचाई, मोटर बोरिङको वितरण गरेर किसानलाई सहयोग पुराएको जानकारी दिनुभयो ।

यस्तै, पर्यटनतर्फ भेलागुडी सामुदायिक वनक्षेत्र भित्र लोकतान्त्रिक शहिद पार्क निर्माण गरेर स्थानीय पर्यटनको विकासमा महत्वपूर्ण योजना सफल बनाएको उपाध्यक्ष गिरीको भनाई छ । सो योजना समेत आफ्नै योजना अनुसार सफल भएको जानकारी दिनुभयो ।

पत्रकार सम्मलेनमा गिरीले पाँच वर्षसम्म एमालेको योजना अनुरुप हल्दिवारीमा विकास योजना अघि बढेको बताउनुभयो । उहाँले राप्रपाबाट निर्वाचित अध्यक्षलाई बजेट, नीति तथा कार्यक्रम बारे थाहा नभएको भन्दै जनप्रतिनिधिको नेतृत्व अध्यक्षले गरे पनि विकासको नेतृत्व एमालेले गरेको बताउनुभयो ।

हल्दिवारीको विकास आफ्नै पहल तथा नेतृत्वमा भएको बताउँदै उपाध्यक्ष गिरीले मन्त्रालयसँगको सम्बन्ध राम्रो भएका कारण विकास आयोजनाहरुका लागि पर्याप्त बजेट ल्याउन सफल भएको बताउनुभयो । एमालेको भिजनले हल्दिवारीको मुहार बदलिएको छ, गिरीले भन्नुभयो, अध्यक्ष ज्यूले अहिलेको व्यवस्था त बुझ्नु भएको छैन । कसरी काम गर्नुभयो होला ? तपाईहरु आफै भन्नुहोस् ।

पत्रकारहरको जिज्ञासामा जवाफ दिदैं उहाँले आफुले गाउँपालिकाबाट यातायात सुविधा समेत नलिएको बताउनुभयो । जनताको काम गर्न आफ्नै मोटरसाइकल प्रयोग गरेको भन्दै उहाँले अध्यक्षले सिक्दासिक्दै पाँच वर्ष बिताएको दावी गर्नुभयो ।