विविध

सार्वजनिक सुनुवाई सम्पन्न

ईलाम । चुलाचुली गाउँपालिका वडा नं १ स्थित नव बहुउद्देश्यीय पशुपन्छी पालन तथा कृषि समूह नेपालले वडाका कृषकहरु माझ प्रदेश सरकार कृषि ज्ञान केन्द्र इलामको चालू आर्थिक वर्ष २०७८/७९ को लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार नमूना कृषि फार्म स्थापना सहयोगार्थ कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवा, चुलाचुली १ का वडा अध्यक्ष पूर्ण लावतीको विशिष्ट आथित्यता रहेको थियो । विभिन्न राजनैतिक दल प्रतिनिधि, संघ संस्था प्रतिनिधिलगायत व्यापक अगुवा कृषकहरुको उपस्थितिमा अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा १ न वडा भरिका कृषकहरु मध्ये बाट उत्कृष्ट कृषकको रूपमा छनौट भएका योगेन्द्र गौतम र सुशिला लावतीलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राजेन्द्र केरुङले स्थानीय सरकारको आगामी बजेट कृषि लक्षित र कृषकहरुको हितमा हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा सभाध्यक्ष शरण कुमार फागोले वडा मा रहेको सम्पूर्ण कृषकहरुको निर्वाहमुखी कृषि पेशालाई निकट भविष्यमा आत्मनिर्भर बनाउने उदेश्यको साथ संस्थाको स्थापना भएको जानकारी गराउँदै कार्यक्रमको समापन गरेका थिए ।