
काठमाण्डौँ, जेष्ठ २६ ।भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनल आज हुदैछ ।
विनरका लागि नेपालका दुई बालकले पनि प्रतिस्पर्धा गर्दैछन् । जसमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रीतम आचार्य र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पाका आयुष केसी रहेका छन् ।
प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै उनीहरू फाइनलको यस चरणमा पुगेका हुन्। सेमिफाइनल पर्फपमेन्समा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनीत फिÞल्म ‘हम दिल दे चुके सनम’बाट इस्माइल दरबार को संगीत रहेको र केकेले गाएको ‘तड़प तड़प के इस दिलमे’ भन्ने गीत गाएका थिए भने आयुषले ‘क्रिमिनल’ फिÞल्मको कुमार सानुले गाएको ‘तुम मिले दिल खिले’ भन्ने गीत गाएका थिए।
गत फेब्रुअरी ९ बाट शुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा ५ देखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ। उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन् ।
प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा एक साता अघि आचार्य र केसीसहित छ जना फाइनलका लागि चयन भएका हुन् । प्रतियोगिताको फाइनलमा पुगेका ६ जना बालबालिकाको प्रस्तुति टेलिभिजनबाट शनिवार प्रसारण गरिएको थियो भने आइतबार (आज)अन्तिम परिणाम सार्वजनिक गरिदै छ ।
सेमिफाइनल राउन्डमा निर्णायक शानले फाइनल राउन्डका लागि सबभन्दा पहिला प्रीतमको नाम लिएका थिए भने निर्णायक अमाल मल्लिकले आयुषको नाम अन्तिममा लिएका थिए। फाइनलमा पुगेका प्रतियोगीहरूले शनिवार राति भारतीय समय अनुसार ९ बजे साङ्गीतिक प्रस्तुति दिएका थिए। उनीहरूले पहिलाका राउन्डमा गाएका गीत गाएका थिए। आयुष र प्रीतमका साथमा भारतीय बालिकाहरू अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास तथा भारतीय बालक महम्मद फैज प्रतिस्पर्धामा छन्।

