धर्म संस्कृती

खुसी र उमंगको चाड दसैँ

काठमाडौं । गाउँघरमा बडा दसैँको रौनक छ । दसैँ खुसी र उमंगको चाड हो । देश विदेशमा रहेकाहरु दसैँमा गाउँघर फर्किन्छन् । टाढा रहेका परिवारका सदस्यहरु विभिन्न योजनासहित दसैँलाई कुर्छन् । उनीहरु आफ्नै थातथलोमा जम्मा भएपछि दसैँको उत्साह निकै बढेको छ । दसैँमा मान्यजनको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न विदेशमा रहेकाहरु स्वदेश फर्किन्छन्, सहरमा भएकाहरु गाउँघर फर्कन्छन् ।

विशिष्ट धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्व भएकाले नै दसैँलाई सबैभन्दा ठूलो पर्वका रुपमा लिइन्छ । सबै जातजाति, भाषा, समुदायले दसैँलाई हर्षाेल्लासका साथ मनाउँछन् । दसैँमा किनमेल गर्नेको सहर बजारमा भीड छ । विभिन्न मिष्ठान्न भोजन गरी आपसी सद्भावका साथ दसैँलाई मनाउने गरिन्छ ।

दसैँ मनाउन सरकारी र निजी कार्यालयमा काम गर्नेहरु बिदा लिएर घर फर्किसकेका छन् । विभिन्न पेसा, व्यवसाय, अध्ययन एवं अन्य कामको सिलसिलामा आफ्नो घर बाहिर रहेकाहरु घर फर्किएका छन् । दसैँलाई विभिन्न समुदाय र भौगोलिक अवस्थाअनुसार फरक–फरक तरिकाले मनाउने प्रचलन छ ।