मेचीनगर । झापाको मेचीनगरमा सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । मेचीनगर १३ चारआली स्थिच उत्तरगंगामा आज राजवंशी समुदायले माटोको हिलो दलेर काद सिरुवा मनाएका हुन् ।

आयोजकका अनुसार पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन रहेको छ । सोहि अनुसार आज दोस्रो दिन सबै भेला भएर सामुहिक उत्तरगंगामा माटोको हिलो दलेर काद सिरुवा मनाइएको राजवंशी समुदायका अग्रज अर्जुन राजवंशीले बताए ।

कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, अग्रज पत्रकार सन्तोष आचार्य, ऋषी राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।
नयाँ वर्षसँगै सुरु हुने पर्वका अवसरमा सिरुवा पर्व झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा तीन दिनसम्म मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाईं र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

यसअघि सिरुवाको पहिलो दिन हिजो यी समुदायका व्यक्तिले हर्षोल्लाससाथ ‘पानी सिरुवा’ मनाएका थिए । लगातार ३ दिनसम्म मनाइने सिरुवा अन्तर्गत सो समुदायले भोलि रङ सिरुवा खेल्नेछन् ।

