काठमाडौं । झापाका अग्रज सञ्चारकर्मी तथा साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ नामक उपन्यास आज लोकार्पण भएको छ । उक्त कृतिको आज एक कार्यक्रमका बिच झापा विद्रोहका योद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल र लेखक भट्टराईले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
कृतिको प्रकाशक साङ्ग्रिला बुक्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राजनीति, पत्रकारिता र सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थितिले हल खचाखच थियोे ।
झापामा तत्कालीन युवा कम्युनिस्ट कार्यकर्ताले २०२८ देखि २०३२ सम्म सञ्चालन गरेको हिंसात्मक आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा ‘झापा विद्रोह’ को नामले पुकारिन्छ ।
उक्त सशस्त्र विद्रोहमा आन्दोलनकारीतर्फ ७ र विद्रोहीबाट ९ जनाको हत्या भएको थियो । घटनापछि सयौं विद्रोही जेलनेल परेका थिए भने कम्युनिस्ट आन्दोलनमा ठूलो हलचल मच्चिएको थियो ।
यस पुस्तकमा झापा विद्रोहका जीवित पात्र र विद्रोहीबाट हत्या गरिएका ३७ पात्रहरूको कथानक बयान छ ।
उपन्यासको संरचनामा लेखिएको कृतिमा कथा भन्ने पात्रहरूमा केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली, हर्क खड्का, राजेन राजबंशी, ठूलो दुर्गा अधिकारी, सानो दुर्गा अधिकारी लगायतका तत्कालीन विद्रोहका अगुवाहरू समेत छन् ।

