झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब झापाको विर्तामोडमा जारी छैटौं झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाइ २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
अत्यन्तै रोमाञ्चक बनेको खेलमा दुवै टिमबाट खेलाडीले पाएका थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् । प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो हापमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेन्जर मुभ बनाउन सकेको थियो । तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो ।
खेलको ५३ औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको ६५ औँ मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाएका थिए । पेनाल्टी एरियामा पाएको बललाई उनको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।
खेलको ४३ औँ मिनेटमा पुलिसका पेनाल्टी एरिया नजिकै पुलिसका उज्ज्वल राइलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्रिकिक पाएको थियो । सञ्जीव लामाले गरेको फ्रिकिक विपक्षी गोलरक्षक दीप कार्कीले पञ्च गरेर बचाए ।
६९ औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो । विकास विकको पावरफुल प्रहार पोस्टमा लागेर रिबाउन्स भएको थियो । रिबाउन्स बललाई आशिष राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो ।
खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ ।
फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।

