झापा, भाद्र १२ । मेचीनगर–८ प्रगति टोलस्थित लालिगुराँस पब्लिक अँग्रेजी विद्यालयले विविध कार्यक्रम गरी बिहीबार तीज पर्व मनाएको छ । जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा विद्यालय परिसरमा तीज विशेष कार्यक्रम गरिएको हो ।

त्यसक्रममा प्रमुख अतिथि थापा, मेचीनगर ८ नम्बर वडा अध्यक्ष विकेन्द्र धिमाल, युवा समाजसेवी विष्णु भट्टराई र एमिटि पब्लिक स्कूलका संस्थापक प्रिन्सिपल सुवर्ण भट्टराईले तीजको शुभकामना व्यक्त गरे ।
सो अवसरमा मेचीनगर ८ नम्बर वडा सदस्यहरु गंगा पाठक, खिला मेचे, ज्येष्ठ नागरिक दुर्गादेवी सिटौलालगायतको आतिथ्यता थियो । विद्यालयका प्रिन्सिपल दिपेश पाठकका अनुसार पर्वको सन्दर्भ पारेर सहभागी अभिभावकहरुलाई सामूहिक रुपमा दर खुवाइएको थियो ।

त्यसक्रममा विद्यार्थी र अभिभावकहरुले तीज पर्वको महत्व दर्शाउने कविता प्रस्तुत गरे भने सहभागीहरुले तीज सम्बन्धी गीतमा नृत्य गरी रमाइलो गरेका थिए । सोही कार्यक्रममा प्रमुख अतिथि थापाले विद्यार्थीलाई खेलतर्फ आकर्षित गर्न खेल सामग्री खरिदका लागि १० हजार रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा स्वागत शिक्षिका तुलसा कट्टेल र सञ्चालन एमिटि पब्लिक स्कूलकी शिक्षिका सीता अधिकारीले गरेकी थिईन् ।

