काठमाडौं, माघ १ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।
माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । आजको दिन परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर तरुल, चाकु, लड्डु तथा घिउलगायतका परिकार खाएर रमाइलो गर्ने चलन छ ।
तराईमा आजको दिनलाई ‘तिला सकराइत’ भनिन्छ । थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा माघी पर्व मनाउने गर्छन् । माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा माघीको रुपमा मनाइ“दैछ ।

