
विराटनगर / भारतीय महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको छ ।
आर्ठौ मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १३ अौं मिनेटमा सन्ध्या रंगनाथानले प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २३ अौं मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अमिनाथ लिजाको हातमा लाग्दै बलले जाली चुमेको थियो ।
२७ अौं मिनेटमा सन्जु यादवले गोल गर्दै ४–० ले टिमलाई अग्रता दिलाईन । पहिलो हाफको इन्जुरी समयमा रतनबाला देवीले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै पाँच गोलको अग्रता दिलाइन् ।
दोस्रो हाफमा भने भारतलाई गोल गर्न अन्तिम मिनेटसम्म कुर्नुपर्यो । अन्तिम मिनेटमा सञ्जुले झण्डै ३० यार्डबाट गरेको सशक्त प्रहार गोल भएपछि भारतले ६–० को अग्रता बनायो । सञ्जुले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् ।

